इन्धनको मूल्य वृद्धि भएसँगै फेरी हवाई भाडा बढ्यो

फाईल तस्विर !!

काठमाडौं,चैत्र,६-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै फेरी हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ ।

संघले शुक्रवार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रू. दुई बढाउने निर्णय गरेको थियो । 

उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जानकारी दिएको छ । 

संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रू. ९० र कम्तीमा छोटो दूरीमा रू. पाँच भाडा बढेको छ । काठमाडौं–धनगढी गन्तव्यमा रू. ९०, काठमाडौं–भद्रपुरमा रू. ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रू. ७० बढेको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर रू. दुई मूल्य बढाएको थियो ।

बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको संघले जानकारी दिएको छ । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए । रासस