एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

फाईल तस्विर !!

काठमाडौं,चैत्र,७-नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसहित पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।

विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार मिल्ने गरी संशोधन गरेको कार्यदलले जनाएको छ । बैठकले संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अब २९ सदस्यीय हुने बनाएको छ ।

यस्तै, दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरेको छ । बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

असन्तुष्ट रहेको माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा अनुपस्थित रहे । सो समूहका सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बोकेर बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल–खनाल समूह गएको थिएन । आजको बैठकमा उपस्थित नेता वामदेव गौतमले भने पार्टी आगामी दिनमा एकता प्रक्रियामा लाग्ने बताउनुभएको थियो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र साविकको एमालेको दुवै पक्षका बैठक भेलामा सहभागी नभएका गौतम पहिलो पटक आज दलको बैठकमा सहभागी हुनुभएको हो ।

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको असंवैधानिक कदम भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गई बहस गरेका सांसद कृष्णभक्त पोखरेल पनि बालुवाटारको संसदीय दलको बैठकमा उपस्थित हुनुहुन्थ्यो ।