राजपाको माग सम्बाेधन गरे मात्रै चुनावः राजेन्द्र महतो

सर्लाही,जेठ,२४-

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आफूहरुको माग सम्वोधन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्नु भएको छ ।

आज बिहान सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले केही महिना मिति सारेर भएपनि मधेशको माग सम्वोधन गरेर मात्रै चुनावमा जानुपर्ने तर्क गर्नुभयो ।

अधिकार प्राप्त गर्न मधेशमा लामो समय देखि संघर्ष जारी रहेकाले संविधान संशोधन गरि तराई मधेशका नागरिकको माग सम्वोधन गर्न राजपा नेपालका नेता महतोले आग्रह गर्नु भएको हो ।

उहाँले तत्कालै राजपा नेपालले उठाएका माग पुरा भएपनि असार १४ का लागि निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सक्ने अवस्था भने नरहेको बताउनुभयो ।

राजपा नेता महतोले भर्खरै गठन भएको काँगे्रस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशको माग सम्वोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघिका सरकारले मधेशी दलसँग पटक–पटक गरेको सम्झौता लत्याएको स्मरण गर्दै महतोले नवनिर्वाचित प्रधानमन्त्री देउवा भने मधेशको माग प्रति गम्भीर हुने आशा व्यक्त गर्नुभयो ।

महतोले मधेश केन्द्रित दललाई बाहिर राखेर चुनाव गर्न खोजे मुलुक नसोचिएको द्धन्द्धमा फस्ने चेतावनी दिनुभएको छ । नेपालवाणीवाट