ए डिभिजन लिग: थ्री स्टार र चर्च ब्वाइज विजयी

काठमाडौं,फाल्गुन,२६-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्री स्टारले पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारका मार्टिन्सले दुवै गोल दोस्रो हाफमा गरेका थिए । मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले ८३औ मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे ।

पहिलो जितपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमै एपीएफसँग पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेण्ड्स क्लबसँग ३-३ को बराबरी खेलेको थियो ।

ए डिभिजनमा डेब्यु सिजनमै पहिलो खेल जितेको नवप्रवेशी खुमलटारको भने यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा फ्रेण्ड्सलाई हराएको खुमलटार दोस्रो खेलमा अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग ३-१ ले पराजित भएको थिए । खुमलटारको ३ खेलबाट ३ अंक छ ।

यसैबिच:चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।

लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १-० ले हरायो ।

चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गरे । आशिषले खेलको २० औं मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

आशिषले पुलिस विरुद्ध पहिलो खेलमा पनि एक गोल गरेका थिए । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।