एमबाप्पे पेनाल्टीमा चुक्दा,फ्रान्स बाहिरियो,स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी,असार,१५-साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे ।

तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन,  अकान्जी  म्यानुएल,  रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

Image

पेनाल्टीमा जानु अघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १-० गोलको अग्रता दिलाएका थिए । उनले  स्टेभन जुबरको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाए ।

Image

लगत्तै ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।  एमबाप्पेको पासमा उनले सहजै गोल गरे ।

खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता बनायो । उनले एन्टोनियो ग्रीजम्यानको पासमा हेड मार्फत गोल गरे ।

Image

खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए  ।

त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो । र, खेल अतिरिक्त समयमा गएको थियो । शाकिरीको स्थानमा ७४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले कप्तान ग्रानिटको पासमा गोल गरे ।

Image

यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ । विश्व विजेता फ्रान्स भने राउण्ड अफ १६ बाट बाहिरिएको छ ।

स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यस अघि स्विट्जरल्यान्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो ।

Image

अब  स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।  क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ ।

यस अघि फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।  स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

Image

Image