सरकारलाई कारण देखाऊ आदेश जारी

काठमाडौं,असार,२३-सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै मंगलवार न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको हो।

बैंकका कर्मचारीले बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुन बाध्य पार्ने गरी सामाजिक सुरक्षा कोषले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका थिए।इजलासले अन्तरिम आदेशका विषयमा असार ३१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

रिटमा अन्तरिम आदेश माग गरिएको भए पनि सर्वोच्चले दुवै पक्षको कुरा सुनेर मात्रै अन्तरिम आदेशबारे निर्णय लिने सर्वोच्चले जनाएको छ ।

जबर्जस्ती कोषमा आबद्ध गराउन नमिल्ने जिकिर गर्दै बैंकका कर्मचारीहरू सर्वोच्च पुगेका थिए। सामाजिक सुरक्षा कोषले असार महिनाभित्र कोषमा अनिवार्य गरेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा उत्रँदै आएका छन् ।