पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै,के-के छन् कार्यक्रम?

काठमाडौं,फागुन,२३-पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) बस्दै छ।तीब्र राजनीति विवाद र अन्योलका बीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजबाट शुरु हुँदै छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गर्नु भएको थियो। तर यो कदम असंवैधानिक भनी दर्ता गरिएका दर्जनभन्दा बढी रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको थियो।

त्यसै क्रममा १३ दिनभित्र संसद् बैठक राख्न दिइएको आदेशअनुसार आज अपराह्न ४ बजे सातौं अधिवेशन सुरु गर्न लागिएको हो।

संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची यस्ता छन्।

बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ। यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।त्यसपछि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।

त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ।

साथै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्षनेताले शुभकामना मन्तव्य दिनुहुने बताइएको छ । तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ।

यसगरी:मुलुकको पछिल्लो तिब्र राजनीतिक विवादका बिच सुरु हुन लागेको प्रतिनिधिसभाको बैठकलाई निकै अर्थपूर्ण ढङ्गबाट हेरिएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेयता राजनीति अन्योल तीब्र छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजित छ । तर निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंगो लगाउन सकेको छैन ।

आफु नै आधिकारिक भएको दाबी गर्दै दुवै समुहले छुट्टा छुट्टै संसदीय दलको बैठक र सचेतक चयन गरिसकेका छन् । प्रतिनिधि सभामा प्राविधिक रुपमा नेकपाको दाहाल नेपाल समुह सत्तारुढ बेञ्चमा बसेपनि सरकारको नेतृत्व गरिरहेको ओली समुहविरुद्ध छ। प्रतिनिधि सभा पूनस्थापान पछि नेकपाको दाहाल नेपाल समुह, नेपाली कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन् ।