एकीकृत समाजवादीले चार मन्त्रालय पाउने पक्का,पाँच मन्त्री पठाउने

काठमाडौं,असोज,२१-नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्यसहित चार मन्त्रालय पाउने पक्का भएको छ ।

बिहीबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले स्वास्थ्य तथा जनसंख्यासहित चार मन्त्रालय पाउने पक्का भएको बताउनुभएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टीले स्वास्थ्यसहित शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी पाएको जानकारी दिँदै सरकारमा पाँच जना पठाउने खतिवडाले बताउनुभयो । शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने उहाँको भनाइ छ ।

नेता खतिवडाले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउनेसमेत सहमति भएको जानकारी दिनुभयो । उहाँले शुक्रबारसम्ममा सबै दलहरूले मन्त्रीको नामावली फाइनल गरेर शनिबार मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो ।