पोखरा रंगशाला निर्माण सुस्त : सागका खेलहरु प्रभावित हुने संभावना

पोखारा,असोज २-

पोखरा रंगशाला निर्माण एवं स्तरोन्नतीको काम सुस्त बनेको छ ।आसन्न दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरि यही कात्तिक १५ गतेभित्र रंगशाला निर्माणको काम सक्ने लक्ष्य राखिएको थियो ।

तर लगातारको बर्षाले काम प्रभावित हुँदा अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएको आयोजना व्यवस्थापक दिपक बरालले जानकारी दिनुभयो ।यही मंसिर १५ गतेदेखि नेपालमा हुने सागका केही खेल पोखरामा पनि संचालन गरिंदैछ ।

तर रंगशाला निर्माणमा देखिएको ढिलाईले सागको तयारीमै समेत असर पर्ने देखिएको छ । खासगरी रंगशालाभित्रको ट्र्याक निर्माणमा समस्या देखिएको छ । सेन्थेटिक ट्रयाक निर्माणका लागि आवश्यक तयारी गर्न सकिएको छैन । ट्रयाकको लागि सिन्थेटिक कच्चा पदार्थ जर्मनीबाट आईसकेको छ ।

तीन कन्टेनर सामान पोखरा रंगशालाभित्र झरिसकेको छ भने बाँकी ३ कन्टेनर सामान आईपुगेपछि ट्रयाक बिछ्याउने काम सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो ।

निर्माणाधिन रंगशालाको दर्शक क्षमता २० हजारको हुने छ । पोखरा रंगशाला निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एमए कन्ट्रक्सन र जावलाखेल ललितपुर (जेभी)ले काम गरिरहेको छ । गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो ।ईमेजखबरबाट