फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा

काठमाण्डौं,असोज,२-

नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो ।

कतारमा सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले हालै समूह चरण अन्तर्गत कुवेत र चाईनिज ताइपेसँग खेलेको थियो । जसमा नेपालले कुवेतसँग ७-० को हार व्यहोर्दा ताइपेलाई २-० ले पराजित गरेको थियो ।

दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको माल्दिभ्स १ सय ५३ औ स्थानमा छ । भारत १ सय ४ औं स्थानमा छ ।नेपालभन्दा तल रहेको भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, पाकिस्तान २ सय ३ र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् । त्यस्तै छैटौं स्थानमा उरुग्वे, सातौं स्पेन, आठौंमा क्रोएसिया, नवौंमा कोलम्बिया र दशौंमा अर्जेन्टिना रहेका छन् ।