दोस्रो चरणको निर्वाचनमा सहभागी हुन यादवको आग्रह

काठमान्डौ,जेठ,२६-
सघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ । 

रिपार्टर्स क्लबले आज गरेको  कार्यक्रममा उहाँले राजपाका नेताहरुलाई  निर्वाचनमा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” ।

अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा थप उत्साह आउने भन्दै मधेसमा निर्वाचनप्रति जनतामा व्यापक उत्साह पाएकाले निर्वाचनपछि अन्य दलको तुलनामा राम्रो परिणाम ल्याउने दाबी गर्नुभयो ।

समाजवादी फोरम स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति नेपालसँग साझेदारी गरेर निर्वाचनमा सहभागी भएको थियो ।  अध्यक्ष यादवले संविधान संशोधन र मुद्दा सम्बोधन प्राथमिकता भएकाले सरकारमा सहभागिताबारे सोचेको छैन भन्नुभयो ।