मुख्यमन्त्री बन्न नेताहरुको आन्तरिक दौडधुप

काठमाडौं,मंसिर,२८-

संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यसैले प्रदेश मृुख्यमन्त्री बन्ने आकांक्षीले कसरत बढाउन थालेका हुन् ।

एमाले र माओवादीबीच कुन प्रदेशको कसले नेतृत्व गर्ने भन्ने औपचारिक निर्णय भएको छैन । ‘भर्खरै चुनाव सकिएकाले दुई पार्टीबीच यो बिषयमा धेरै छलफल भएको छैन, दुई दलको समझदारीमै तय हुन्छ’ एमाले सचिव पृथ्वी सुब्बा गुरुङले भने ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि दुई दलबीचको समझदारीमा यो विषय तय हुने जानकारी दिइन् । ‘दुई पार्टी बीच समझदारीमै तय हुन्छ, समझदारीको विधि अनुसार मिलाएर गर्छौं,’ उनले थपिन् ।

दुई दलले चुनावअघि ६० र ४० प्रतिशत उम्मेदवारीमा भागबन्डा गरेका थिए । अब पदीय बांडफाटमा पनि त्यही सूत्र प्रयोग हुने सम्भावना छ । यो सुत्र अनुसार अनौपचारिक रुपमा ६ मध्ये ४ वटा एमाले र दुइटा माओवादीलाई दिने गरी कुराकानी भएको छ । माओवादीले प्रदेश ६ र ७ मा आफ्नो दाबी गरेको छ । सशस्त्र द्वन्द्वकालदेखि नै आफ्नो पकड क्षेत्र रहेकाले माओवादीले त्यसतर्फ बढी चासो दिएको हो । आजको कान्तिपुरमा खबर छ ।