सातै प्रदेश बजेटको अन्तिम तयारीमा

आन्तरिक स्रोत बढाउन नसक्दा अघिल्लै वर्षको हाराहारीमा बजेट आउने

फाईल तस्विर !!

काठमाडौं,जेठ,३१-देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् ।

धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८ / ७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साँढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ । बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

अर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमितको उपचार, अस्पतालको स्तरोन्नति र खोपलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुने बताउनुभयो ।

दुई दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम पेश हुँदैछ । प्रदेश सरकारले भोलि ३२ अर्ब हाराहारीको बजेट ल्याउने स्रोत बताँउछ ।

लुम्बिनी प्रदेशमा हिजो नीति तथा कार्यक्रम बहुमतले पास भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई राहत मिलेको छ।उहाँको सरकारले भोली ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।

कर्णाली प्रदेशले आगामी वर्षका लागि करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउँदैछ भने सुदुरपश्चिम प्रेशमा बजेटको आकार ३० अर्ब आसपास हुने बुझिएको छ ।

संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि प्रदेशले पनि यसैलाई पछ्याउने देखिन्छ ।