विश्वकप छनोट : नेपालले आज अष्ट्रेलियासँग खेल्ने

काठमाडौं,जेठ,२८-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।

‘आशा छ हामी अष्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्नेछौं। हाम्रो खेल्ने शैली सुधार भएको छ र हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौं,’ प्रशिक्षक अलमुताईरी भन्छन् ।

 

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

यस्तै प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए ।

‘सबै ठीकठाक छ भने उनीहरूले खेल्ने छन् । म बुझ्छु, अष्ट्रेलियाविरुद्ध खेल्नु गार्हो छ तर उनीहरूले खेल्नु महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताउँछन् ।

‘उनीहरु फरक शैलीमा खेलिरहेका छन् र पछाडीबाट खेल्ने कोशिस गरिरहेका छन् । प्रशिक्षकले धेरै राम्रो काम गरिरहेका छन् र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाल मेहनती टोली हो,’ आर्नोल्डले भने ।यस्तै प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा सुरुवाती-११ मा परिवर्तन हुने समेत बताउनुभयो ।

समूह ‘बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।

नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।जारी छनोटमा नेपालले यस अघि चाईनिज ताईपेलाई २-० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित - Khelpati

हेड टु हेड –

नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो ।

अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार व्यहोरेको थियो । क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो ।

उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । यस्तै ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो भेट हुनेछ ।