६ महिनामा चार अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय विराटनगरमा राजस्व संकलनमा कमीविराटनगर,माघ,१३-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महिनामा चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्यभन्दा २२ करोड ६ लाख २२ हजार कम राजस्व कम संकलन भएको हो ।

गत आवको सो अवधिमा कार्यालयले तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो ।

कार्यालय गत आवको भन्दा २७ करोड ७० लाख ३० हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । कार्यालयले उठाएको राजस्वमा आयकर एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर ५० करोड २५ लाख आठ हजार, ब्याजकर  पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा शुल्क ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार रहेको छ ।     

संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरबाट तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार असुली भएको कार्यालयले बताएको छ । रासस