कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

काठमाडौं,माघ,१३-सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले ३ माघमा संस्कृति मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिनुभयो। ‘असुलउपर गर्न बाँकी रकम कोषको खातामा जम्मा भएको छ, भौचर पनि कार्यालयमा आएको छ,’ उहाँले भन्नुभयो ।

छानबिन प्रतिवेदनमा छ, ‘धर्मशाला प्रयोग गरेबापत मासिक आठ लाख ७८ हजार चार सय ६८ रुपैयाँ र वार्षिक एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँ कायम गरेको, सम्झौता हाल १० वर्षको हुने र पछि पाँच वर्ष थप गर्ने उल्लेख छ । धर्मशालाबाट कोषले भुक्तानी पाउनुपर्ने भाडा करिब एक वर्षदेखिको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ बाँकी देखिन्छ ।

’कोभिड– १९ महामारी अवधिमध्येको भाडा मिनाहाका लागि आनन्दले कोषसँग माग गर्दै आएको थियो । तर, पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को स्वीकृतिविना नै धर्मशाला लिजमा दिइएको छानबिनबाट खुलेपछि सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाइसकेको छ ।नयाँ पत्रीका