ओखलढुंगामा करिब ८ हजार मतदाता थपिए

सिर्जना बर्देवा,/
ओखलढुंगा,भदौ,५-

ओखलढुंगामा करिब ८ हजार मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा करिब ८ हजार मतदाता थपिएका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिकामा भएको मतदाता नामावली संकलन कार्यक्रमबाट ७ हजार ८ सय भन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका भगवान दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन महिनाको अन्त्य सम्म नाम दर्ता गराउनेको निकै भिड लागेको भएपनि थपिएको ३ दिनमा उपस्थिती कम देखिएको थियो । पछिल्लो पटक थपिएका मतदातामा ३ हजार ५ सय ३९ महिला र ४ हजार २ सय ५२ पुरुष छन् । जसमध्ये सवैभन्दा बढी जिल्ला निर्वाचन कार्यालयबाट ३ हजार ९ सय ४५ जनाले नाम दर्ता गराएका छन् ।

ओखलढुंगा जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका कार्यालयमार्फत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटो सहितको मतदाता नामाबली संकलन तथा अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्ने लगायतका काम गरिएको थियो । आयोगको निर्देशन अनुसार भाद्र ४ गतेबाट नामावली संकलनको काम राकिएको छ ।

कार्यालयका अनुसार मानेभञ्ज्यांग गाउँपालिकामा ९ सय २३, मोलुंगमा ५ सय ६२, सुनकोशीमा ५ सय ३, चम्पादेवीमा ४ सय ९२, चिशंखुगढीमा २ सय ६९, खिजीदेम्बामा ५ सय ८० र लिखुमा ५ सय ७ तथा सदरमुकामस्थित निर्वाचन कार्यालयबाट ३ हजार ९ सय ४५ जनाले नामावली दर्ता गराएका छन् ।

असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन हुनु अघिको विवरण अनुसार ओखलढुंगामा ९३ हजार ८ सय ४२ मतदाता रहेका थिए । पछि थपिएका समेत गरेर जिल्लाको कुल मतदाताको विवरण यकिन गर्ने काम भईरहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।