सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर, १३-
मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गर्न वाम गठबन्धनले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले मतदान केन्द्र बरिपरिवाट कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटि हिसावले मतदान गराएकाले पुनः मतदान गराउन माग गरेको जनाएको छ ।
वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक एवं क्षेत्र ख का उम्मेदवार मोहन खड्काले विज्ञप्ती जारी गर्दै बलख’ लगायत सुनकोशीको वडा नं. ४ र ५, चम्पादेवीको विलन्दुमा गाउँपालिका प्रमुख नबराज केशीसहितको नेतृत्वमा भएको आक्रमण तथा मोलुंग ४ मा कुलबहादुर खत्रीको घरमा भएको प्रहरी हस्तक्षेपको छानविन गरि कारवाही गर्न माग गरेका छन् ।
मतपेटिका ढुवनी भइ सकेपछि मतदानको माग गरेको विषयमा वाम गठबन्धनका संघीय प्रतिनिधी सभाका उम्मेदवार एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बलखु लगायतका केहि स्थानबाहेक शानितपूर्ण मतदान भए पनि बलखुका दुई केन्द्रमा वडा अध्यक्ष, एमाले नेताहरु समेतले मतदान गर्न जान नसक्ने आतंकका बीचमा भएको निर्वाचन स्वीकार योग्य नभएको बताउनुभयो ।
उहाँले सर्वदलीय बैठकमा समेत पुनः मतदान गराउन माग गर्नुभएको थियो । मंसिर १० गते मतदानको दिन विहान ९ बजे मतदान धमाधम भइरहेको समयमा मतदान स्थलभन्दा १०० मिटर पर वाम गठबन्धनका नेता जिवी खड्का लगायतका दर्जनबढी कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका थिए । गठबन्धन समर्थक मतदातालाई मतदानमा सहभागि हुन आवत जावतमा नेपाली काँग्रेसका उम्मेदवार समर्थक बुद्ध लामा र सञ्जय तामाङ लगायतका कार्यकर्ताहरुले रोक लगाएका थिए ।
बञ्चरो र खुकुरी प्रहारबाट खड्कासहितका नेता घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको थियो । घटनापछि मतदान स्थलमा भएका गठबन्धनका कार्यकर्ताहरु सुनकोशी गाउँपालिका २ का वडा अध्यक्ष खिलानाथ तामाङसहित मतदान नै नगरि भागेका थिए । बुथ कब्जा र हतियार सहितको आक्रमण भए पनि मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायलाई खबर नगरेको वाम गठबन्धनको आरोप छ ।
मतदान अधिकृतले शान्तिपूर्ण मतदान भएको भन्ने प्रतिवेदा दिएपछि पुनः मतदान गराउन नसक्ने मुख्य निर्वाचन अधिकृत कैलाश केशीले बताउनुभयो । गबन्धनले सबै गटना छानविन गरेर दोषीमाथि कारवाही गर्न र पुनः मतदान नगराए त्यसपछि आउने परिस्थितिको समाना गर्न तयार रहन चेतावनी समेत दिएको छ ।