प्रधानमन्त्री दाहालद्धारा कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमन

मकवानपुर,पुस २-प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी आयोजनाको काम छिटोछरितो तथा पारदर्शी बनाउनका लागि आफू लागि परेको बताउनुभएको छ । सरकारी आयोजनाका काम अपारदर्शी र ढिलो हुने गरेको गुनासो बढेकाले आफू नै अनुगमनमा निस्किएको उहाँले बताउनुभयो । मकवानपुरको भैँसेमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमनका क्रममा उहाँले सरकारी स्तरबाट सुरु भएका कामहरु छिटो र छरितो गराउनका लागि कटिवद्ध रहेको बताउनुभयो ।

राष्ट्रिय गौरवका योजना ढिलो हुने समस्या देखिएपछि आफूले मेलम्चीबाट सुरु गरेको अनुगमनको काम कुलेखानी तेस्रोसम्म आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो आयोजनाको काम चिनियाँ निर्माण कम्पनीका कारण ढिलो भएको भन्ने गुनासो छ । यसमा कुटनीतिक तवरबाट दूताबास मार्फत म आफै पहल गर्छु । उहाँले आयोजनाको काम छिटो सक्न ठेकेदार कम्पनीसहित सम्बन्धित सबैलाई निर्देशन दिनुभएको छ ।