देव नारायण यादवलाई छुटाउन प्रचण्ड र गृहमन्त्री शर्माको पहल

काठमाडौं,असोज,१६-

भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादवलाई छुटाउन आवश्यक पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल शुरु गर्नु भएको छ ।

यादवलाई शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएको बेला भारतीय प्रहरीले यादव र उनका छोरासहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । त्यतिखेर यादव र अन्य एकजनालाई रिहाई गरेपनि उनका छोरालाई हिरासतमा लिइएको थियो । उक्त घटनाको भोलीपल्ट आइतबार छोराको रिहाईका लागि सीमापार गएका यादवलाई फेरी प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहान गृहमन्त्री जनार्दन शर्मालाई यादवको रिहाईका लागि पहल गर्न भनेको प्रचण्ड सचिवालयले जनाएको छ । यादव नेपालको सीमा रक्षाका लागि आन्दोलनरत रहेकोमा सो सम्बन्धमा के कसो भएको हो, तत्काल भारतीय पक्षसँग समन्वय गरी यादवलाई रिहा गर्ने वातावरण बनाउन गृहमन्त्री शर्मासँग प्रचण्डले भनेको सचिवालयले जनाएको छ ।

गृहमन्त्री शर्माले यसबारेमा गृह प्रशासनले सीमावर्ती भारतीय प्रशासनसँग समन्वय गरिरहेको जानकारी गराउनु भएको थियो । सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।

यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि नेपालमा भने चर्को बिरोध शुरु भएको छ । यादवको टाउको र शरीरमा रगत देखिएको तस्वीर र उनी तथा छोरालाई सिक्री र डोरीले बाँधेको तस्वीर अहिले भाइरल जस्तै बनेको छ ।

उनी केही महिनाअघि नेपाली भूमि रक्षाका लागि भारतीयसँग लड्दा सख्त घाइते भएका थिए। यादव सप्तरी तिलाठीका बासिन्दा हुन । भारतीय सीमा सुरक्षा बलसँग नेपाली भूभागका लागि निरन्तर लड्दै आएका यादव भारतीय पक्षको निशानामा थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घटनाका बिषयमा बुझ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताए। उनले घटनाका बिषयमा सशस्त्रको बोर्डर आउट पोष्टले जानकारी दिएपछि मात्र घटनाका बिषयमा यथार्थ बाहिर आउने बताए। उनका अनुसार यादवलाई प्रहरीले वीररपुर लगेको छ। एभरेष्ट दैनीकबाट