बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा

बैतडी,पुस २-बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा भएको छ  । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले तय गरेका बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने आवश्यक ३९ वटा सूचकहरु पूरा गरिसकेपछि गाविसलाई बालमैत्री घोषणा गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह बिष्टले बताउनुभयो । यसअघि गएको कात्तिक महिनामा  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गुरु सुवेदी नेतृत्वको टोलीले बालमैत्री गाविस घोषणाका सूचकको अनुगमन गरेको र अनुगमनका क्रममा सबै सूचक पूरा भई मन्त्रालयवाट स्वीकृत पाइसकेकाले सिद्धेश्वरलाई सुदूरपश्चिमको पहिलो र देशकै तेश्रो बालमैत्री गाविस घोषणा गरिएको हो ।

घोषणा सभामा संघिय मामिला तथा स्थानिय विकास  मन्त्री हितराज पाण्डेको प्रमुख अतिथि रहनु भएको थियो । यसका साथै कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले बालमैली सम्बन्धी जनचेतनामूलक सामग्री प्रस्तुत गरेकाछन् । बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागितासंग सम्बन्धित २७ वटा र संस्थागत १२ वटा गरी ३९ वटा सूचकहरु पूरा गरेपछि मात्रै स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न सकिने बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ मा उल्लेख गरिएको छ ।