काठमाडौं,चैत्र,८-बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ ।
टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो ।
वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले नदी व्यवस्थापनका साथै तटबन्ध निर्माण गरि दिन आग्रह गर्दै उक्त टोलीले मन्त्रीद्धयलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझे पछि अर्थमन्त्री जनार्दन शर्मा र सिंचाई मन्त्री पम्फा भुषालले टीकापुरको बाढी प्रभावित क्षेत्रमा भएको क्षति न्युनिकरणका लागि दिर्घकालीन योजना सहित काम गर्ने आश्वासन दिनुभयो।
सिंचाई मन्त्री भुसालले रानीजमरा कुलरिया सिंचाई आयोजनाले टीकापुरमा कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्थापन, खेतीयोग्य जमिन र बस्ती जोगाउनका लागि तटबन्धको काम पनि गरीरहेको उल्लेख गर्दै आयोजनाबाट हुने काम गुणस्तरीय र प्रभावकारी बनाउनका लागि माहतहका कर्मचारीलाई निर्देशन दिने बताउनुभयो ।
ज्ञापन पत्रमा शाहीपुरको क्षतिग्रस्त तटबन्ध यसै आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने भनिएको छ।वडा नम्बर ८ मा पर्ने हुलाकी राजमार्गको यथाशीघ्र मर्मत सम्भारका लागि पहल गरि दिन पनि आग्रह गरिएको छ ।
कर्णाली नदीको कटान नियन्त्रण गर्न भन्दै राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिंचाई आयोजनासंग २०७२ साल चैत १३ गते हाईग्रीभा, सिद्धीशाही, प्रकाश जे.भी. सामाखुशीसंग सम्झौता भएको ६ वर्ष सम्म पनि निर्माण कार्य सम्पन्न नभएकोले तटबन्धको काम छिटो छरितो गरी स्थानियको जीउ, धनको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने उल्लेख छ ।
बाढीका कारण कैलालीको पुरानो गल्ला मण्डी सत्ती बजार पूर्ण रुपमा विस्थापित हुने अवस्थामा पुगेको बाढी पीडित संघर्ष समितिका संयोजक धन सिंह साउदले बताउनुभयो ।
साविकको नारायणपुर र धनसिंहपुर गाविसका हजारौ घरधुरी बाढीकै कारण विस्थापित हुन थाले पनि नदी नियन्त्रण गर्न तटबन्धको जिम्मा पाएका निर्माण कम्पनीले काममा ढिलासुस्ती गरीरहेको गुनासो गर्नुभयो।
उहाँले स्थानिय स्तरमा विभिन्न पहल गर्दा पनि समस्याको सुनुवाई नभएको भन्दै टोलीले बाढी पीडितका समस्याहरु ल्याएर सरोकारवाला मन्त्रालयमा ध्यानाकर्षण गराएको साउदले जानकारी दिनुभयो।
२०७८ साल कार्तिक २ गते कर्णाली नदीमा आएको विनाशकारी बाढीका कारण टीकापुर नगरपालिका वडा नम्बर ५ मा पर्ने शाहीपुर क्षेत्रबाट कर्णाली नदी पस्दा टीकापुर ८ अन्तर्गत हुलाकी सडक खण्डको सुर्यपुर देखि कर्णाली पुल सम्मको करिब ५ सय मिटर सडक खण्ड पूर्ण रुपमा नष्ट भएको छ ।
उक्त सडक खण्ड अझै मर्मत भएको छैन ।बाढीले त्यस क्षेत्रको सयौ विघाह जमिन बगरमा परिणत टीकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले बताउनुभयो।
टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको रोहबरमा बाढी पीडित क्षेत्रका समस्याहरु समाधानका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि तीन बुदे ज्ञापन पत्र बुझाएको ठकुल्लाले जानकारी दिनुभयो।
सुदूपश्चिम प्रदेश सभाका सदस्य डा. रण बहादुर रावल, टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल, टीकापुर नगरपालिका ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरीको विशेष उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।
बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बाढी पीडित संघर्ष समितिका संयोजक धन सिंह साउँदले जानकारी दिनुभयो।
टीकापुरको बाढी प्रभावित क्षेत्रमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले समेत केहि समय अगाडि मात्र अवलोकन गर्नु भएको थियो । उहाँले अवलोकनका बेला बाढी प्रभावित क्षेत्रको समस्या समाधानका लागि पहल गर्ने आश्वासन समेत दिनु भएको थियो ।
कर्णाली, पथरैया र मोहना नदीको कटान र बाढीबाट टीकापुर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ का बस्तीहरु पूर्ण रुपमा विस्थापित हुने अवस्था आएको स्थानियबासिन्दा समेत रहेका साउदको भनाई रहेको छ ।