मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको निर्वाचन प्रमुख यादवको भनाई

काठमाडौं,कार्त्तीक,२३-

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी नभएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनु भएको छ । उहाँले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताउनु भएको हो ।

आज काठमाडौंमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो समय कम भएर कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन ।

उहाँले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति बनेको बताउनुभयो । उहाँले निर्वाचन प्रचार अभियानमा हुने अधिक खर्च नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै यसको नियन्त्रण गर्नु आयोगको मुख्य चुनौति रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले मतदातासँग उम्मेदवारहरु आफैंले आर्थिक लेनदेन गरिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता उम्मेदवारमाथि स्पष्टिकरण लिन लागिएको पनि जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि नगर्न सरकार, राजनीकि दल र उम्मेदवारहरुलाई सचेत गराउँदै आएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बढिमा २५ लाख र प्रदेशसभा निर्वाचनका लागि बढीमा १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था भएपनि करोडौं खर्च निर्वाचनमा हुने देखिएपछि निर्वाचन आयोग चिन्तित देखिएको छ ।