पाँच वर्षभित्र मुलुकको कायापलट गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं, चैत,५-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताउनु भएको छ ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको आज काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने उद्घोष गर्नुभयो ।

मुलुक शान्ति र एकताको युगमा प्रवेश गरेको भन्दै उनले मतभेदलाई बिर्सेर मुलुक निर्माणमा एकजुट हुन सबैसँग आग्रह गर्नुभयो ।मुलुक लामो द्वन्द्वबाट शान्तिमा प्रवेश गरेकाले अब लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो  । देशलाई सर्वोपरी राखेर जनताको हितमा काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बललाई समयसापेक्ष परिवर्तन गरेर लैजाने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

यसैविच : सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बललाई आधुनिकीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन निर्धारित् समयभन्दा ६ महिनाअगाडि नै तयार भएको जनाइएको छ ।