सार्वजनिक नहर मिचि माछापालन पोखरी निर्माण हुदै

इन्द्र कार्की
महेन्द्रनगर,बैशाख,१२
      धनगढी उपमहानगरपालिका वडा नं. ११ जोकैया र बेला जोड्ने सिंचाइ नहर मिचिएको छ । बेला स्थित रहेको बाँध नजिक करिब ८०० मिटर बराबरको नहर मिचिएको हो । धनगढीको सेतोपुल जोड्ने मुख्य नदिमा बाँध बनाइ बेला स्थित पुर्व र पश्चिममा दुइतर्फी नहर सञ्चालन गरिएको थियो । नहरमा डोजर लगाइ माटो सम्याएर माछापालन पोखरी र खेतीपाती सुरु गरिएको छ । नहर छेउका जग्गाधनीले नहर मिच्दा हजारौं बिघा जमिन सिंचाइ सुविधा वाट वञ्चित भएको छ । बि.सं. २०४६ सालमा करिब १० लाख बढी लागतमा बनेको बाँध भत्किएपछी अहिले नहरमा पानी सञ्चालनमा छैन । धनगढी उपमहा नगरपालिकाका मटियारी, जाँई, तारानगर, हसनपुर, जाली लगायत १० भन्दा बढी गाउको जमीनमा सिंचाइ  हुन पाएको छैन । स्थानियले पटक पटक बाँध निर्माणको प्रयास गर्दा समेत सरकारबाट बजेट नपाएकाले बाँध निर्माण गर्न नसकिएको हो । २०६४ सालमा बाँधमा क्षति पुगे यता नहरमा अहिले सम्म पानी बगेको छैन । स्थानियले प्रत्येक वर्ष पटक पटक २०७२ सालसम्म श्रमदान मार्फत बाँध निर्माण प्रयास गर्दा समेत बाँध निर्माण हुन सकेन । प्रत्येक वर्ष बाँधको लागि सरकारी बजेट आउने कुरा हल्लामै सिमित बनेको छ। २०७० सालमा स्थानियको चन्दा र श्रमदान गरि भरेर बाँध पुनः निर्माण गरिएको थियो। बाँध निर्माण भइ पानी सञ्चालनमा आएको केहि दिनमै बाँध बगेको थियो। नदिको गहिराइ बढेका कारण माटोको बाँधले पानीको बहाबलाई थेग्न नसकेकोले वाँध वगाएको स्थानियले वताए । २०६४ साल अगाडि नदिको गहिराइ कम भएको र बाँध पक्की भएकोले २० वर्ष सम्म सिंचाइ सहज रुपमा भएको थियो। पक्की बाँध भत्किएको र पानी नहरमा नबगेको मौका छोपेर नहर मिचि माछा पोखरी निमार्ण तथा खेतीपाती सुरु गरिएको हो । भत्किएको केही समयमै सरकारी बजेट आउने र पुनःबाँध निर्माण भइ नहर सञ्चालनमा आउने भनिएता पनि भनाइमा मात्र सिमित भएको छ । वाँध भत्किएको लामो समय भै सक्दा पनि पुन निमार्ण को लागि सरोकारवाला पक्षले देखाएको उदासिनता लाई स्थानियवासीले गम्भीर रुपमा लिएका छन् ।