पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, ६ महिनामा सम्पन्न हुने

फाईल तस्विरमा : पोखरा विमानस्थल!!

काठमाडौं,असार,१८-राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको निर्माणकार्य ६ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । असार महिनाभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले कोरोनाका कारण गति लिन सकेको थिएन ।

चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले गति लिन नसनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्ण पौडेलले जानकारी दिनुभयो । विदेशबाट आउने जनशक्तिहरू अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भइरहने उहाँको भनाइ छ ।

‘मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना थियो,’ उहाँले भन्नुभयो, ‘कोभिड दोस्रो लहरका कारण रोकियो ।’

कोभिडको निषेधाज्ञामा पनि विमानस्थलको काम निरन्तर भइरहेको पौडेलले बताउनुभयो । यद्यपि जनशक्ति भने ५ सय बाट २ सयमा झारेर काम गर्नुपरेको उहाँको भनाइ छ । कोभिडका कारण चिनियाँ जनशक्तिमा समेत कमी आएको छ । अहिले आयोजनास्थलमा १ सय ६६ जना चिनियाँ जनशक्ति छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरू भइरहेकाले ३ सय चिनियाँ जनशक्ति आवश्यक रहेको आयोजनाले जनाएको छ ।

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थल सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यस अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल विमानस्थल निर्माणले अपेक्षित सकेको गति लिन सकेको छैन । निर्माण सम्पन्न मिति समेत २०२१ डिसेम्बरका लागि सारिएको इनिजनियर पौडेलले जानकारी दिनुभयो ।

विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको हो । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ । टर्मिनल भवनको ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ ।