राजदूतहरूको गठबन्धन अनावश्यक : प्रधानमन्त्री ओली

काठमाण्डौं,माघ,१२-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा गठजोर गरेको भन्दै आपत्ति जनाउनुभएको छ । विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्विजरल्यान्डको डाभोर्स पुग्नुभएका प्रधानमन्त्री ओलीले बिहीबार उहाँको सम्मानमा स्विजरल्यान्डका लागि आवासीय राजदूत दीपक धितालले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित राजदूतहरूलाई नेपालको आन्तरिक मामिलामा गुटवन्दी नगर्न सुझाव दिनुभएको हो ।

“नेपालले शान्ति प्रक्रिया पूरा गरेको सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा, अत्तालिएर हो या के हो, गठजोर गरेको देखेँ । यस्तो गठजोर, गुटवन्दी आवश्यक छैन” उहाँले भन्नुभयो । राजदूतहरूले नेपालले गरेको द्वन्द्व समाधानलाई अवमूल्यन गरेको उहाँले बताउनुभयो । “द्वन्द्व समाधान गर्नु नराम्रो हो र ? केही समस्या भए त्यसलाई हामी व्यवस्थापन गर्छाैं” प्रधानमन्त्रीले भन्नुभयो, “द्वन्द्वको समाधानका बाँकी मुद्दा समाधान हामीले गर्ने हो ।

हिंसाको बेला भएको घाउखतमा मलम लगाउनुपर्छ । तीनलाई कोट्याउने होइन” उहाँले भन्नुभयो । नेपाल तानाशाही मुलुक नभएको र लोकतान्त्रिक शासन पद्धतिमार्फत समावेशी सत्ता सञ्चालन भइरहेको प्रधानमनत्री ओलीले बताउनुभयो ।