प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डबाट आज स्वदेश फर्कंदै

काठमाण्डौं,माघ,१२-

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्कंदै छन् ।डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतिनिधिमण्डलमा रहेका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कंदै छन् ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी संघर्ष गरेको उक्त मञ्चमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।