निर्मला पन्त हत्याकाण्ड रहस्यकै जालोभित्र

काठमाडौँ, मङ्सिर,२४-

(NIRMALA PANTA)

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । ती दुई अभियुक्तले प्रहरीलाई दिएको वयानमा पनि विवाद देखिएको छ । सिआइवीका प्रमुख निरज शाहीले ती दुईजनाको सामान्य वयान भएको स्पष्ट पार्नुभयो ।

निर्मला हत्या घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नै भइरहेकाले थप अनुसन्धान उतैबाट भएको जानकारी उहाँले दिनुभयो । अभियुक्त द्वयले वयान फेर्ने र अरुलाई पोल्ने गरेपछि विवाद देखिएको हो । महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले नै विशाल र दिनेश चौधरीको नामसमेत पोलेका थिए, तर दिनेशको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको छ ।

सिआइवी प्रमुख शाहीले पक्राउ अभियुक्तहरूले निर्मला हत्या घटना सकारेको वा अस्वीकार गरेको विषयमा जानकारी दिन चाहनु भएन । अभियुक्तको थप वयान लिने र डिएनए प्रतिवेदन हेर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई रहेको उहाँले बताउनुभयो ।

‘सिआइवीको टोली जिल्लामा नै खटिइसकेकाले केन्द्रबाट सबै कुरा हेर्नुपर्छ भन्ने पनि छैन,’ उहाँले भन्नुभयो, ’डिएनए प्रतिवेदनका बारेमा पनि जिल्लाबाट अनुसन्धान हुनेछ । पक्राउ परेकाहरूको विस्तृत अनुसन्धान पनि उतैबाट भइरहेको छ ।’ निर्मला हत्या घटनामा ती दुई अभियुक्तको संलग्नताको विषयमा अहिले नै भन्न सक्ने अवस्थामा नआइसकेको ब्यूरो प्रहरीले जनाएको छ ।

केही शंस्कापद ब्यक्ति पक्राउ परेका छन्, तर तथ्य प्रमाण प्राप्त हुन नसकेको जनाइएको छ ।निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।निर्मला हत्या घटनाको अनुसन्धानमा खटिएको प्रहरीको उच्चस्तरीय अनुसन्धान टोलीले बलात्कारमा एकजना र हत्यामा दुईजनाको संलग्नता रहेको तथ्य यसअघि नै सार्वजनिक गरेको थियो ।

यसैबीच: नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकार असफल भएको आरोप लगाएको छ ।महिला संघले आइतबार पत्रकार सम्मेलन गरी नक्कली अभियुक्त खडा गरेर बालिका पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएको हो ।पत्रकार सम्मेलनमा संघका महासचिव तथा राष्ट्रियसभाका सदस्य धना खतिवडाले निर्मला पन्तको हत्या ठूलो र पहुँचवाला व्यक्तिले गरेको दाबी गर्नुभयो ।साभार गोर्खापत्रबाट