बडादशैंको आज चौथो दिन : कुष्माण्डाको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१५-

बडादशैंको चौथो दिन आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चारौँ देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख छ ।