नरैनापुरको कट्कुइँयामा क्रिकेट टुर्नामेन्ट शुरु

नरैनापुर(बाँके), फागुन, २६
बाँकेको नरैनापुर गाउँपालिकाको मँझरेटीमा आज(आइतबार)देखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ ।

युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा कट्कुइँया मँझरेटीस्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद््घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले खेलले नै विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई जोड्ने भएकाले यस्ता खाले प्रतियोगिताले सामाजिक सद्भाव र मेलमिलाप बढाउन भूमिका खेल्ने बताउनुभयो । खेलकुदको विकासका लागि आफूले हरसम्भव पर्यत्न गर्ने अध्यक्ष शाहले बताउनुभयो ।

खेल मैदानको विकास र स्तरोन्नति गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । उहाँले अब निर्माण हुने रंगशालाले नरैनापुरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने अध्यक्ष शाहले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले खेलकुदको विकासका लागि गाउँपालिकाले यथेष्ट बजेट विनियोजन गरेको भन्दै आगामी बर्षमा अझ बढाइने बताउनुभयो ।

चैत्र १० गतेसम्म चल्ने प्रतियोगितामा नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयाका ५ गाउँका टिम सहभागी छन् । टि–ट्वान्टि फम्र्याटमा खेलाइने प्रतियोगितामा बनियाँ गाउँ, महत्नियाँ गाउँ, कट्कुइयाँ, मँझरेटी र सुइया गाउँ सहभागी रहेको स्थानीय साहजाद अलि जोलाहले बताउनु
भयो ।

प्रत्येक बर्ष आयोजना हुने यो प्रतियोगितामा गाउँपालिकाले आर्थिक सहयोग गरेको
छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगदसहित रेन्जर साइकल, द्वितिय हुनेलाई रंगीन टेलिभिजन र ३ वटा भित्ते घडी र तेस्रोलाई स्ट्याण्ड पंखा र ३ वटा भित्ते घडी प्रदान गरिने आयोजक युवा तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमजान अलि अन्सारीले बताउनुभयो ।