हालसम्मकै उच्च अंकले बढ्यो बजार, करीब ७ अर्बको कारोबार

काठमाडौं,पुस,७-मंगलवार शेयर बजार हालसम्मकै उच्च अंकले बढेको छ । यो दिन बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको हो । उता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ ।

१ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर बढेर बन्द भएको हो । यसअघि २०७३ साल साउन २५ गते बजार ८४ दशमलव ५१ अंकले बढेको थियो । त्यसपछिको उच्च अंकको वृद्धि मंगलवारको बजारमा भएको हो ।यो दिन कारोबारमा आएका १२ ओटै समूहको परिसूचक बढेको छ ।

बैंकिङ समूहको ४ दशमलव ४२ प्रतिशत, व्यापारिकको ४ दशमलव शून्य ९ प्रतिशत, होटलको १ दशमलव शून्य ८ प्रतिशत, विकास बैंकको ३ दशमलव ११ प्रतिशत, जलविद्युतको ५ दशमलव १४ प्रतिशत, वित्तको ३ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३५ प्रतिशत, अन्यको ५ दशमलव शून्य ४ प्रतिशत, लघुवित्तको ३ दशमलव ३६ प्रतिशत, जीवन बीमाको ७ दशमलव ४३ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ७२ प्रतिशतले परिसूचक बढेको हो ।

परिसूचक वृद्धिसँगै मंगलवार कारोबार रकम पनि रू. ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार रहेको छ । यो दिन २०५ ओटा कम्पनीको ५५ हजार ७२१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर कारोबार भएको छ । यो दिन कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ ।

उक्त कम्पनीको रू. ८६ करोड ३६ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९६ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २१३ ले बढेर उक्त कम्पनीकोे मंगलवार अन्तिम शेयरमूल्य रू. २ हजार ३५१ पुगेको हो ।

यो दिन १७५ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२ ओटा कम्पनीको घटेको छ । बाँकी १८ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस दिन शिखर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नबिल बैंकसँगै ११ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

हालसम्मकै उच्च अंकले बजार बढेको दिन नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९२ प्रतिशत र युनाइटेड इदी मर्दीको शेयरमूल्य ९ दशमलव ९० प्रतिशतले घटेको छ ।आर्थीक अभियान