कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड विनियोजन

कीर्तिपुर त्रिवि क्रिकेट मैदान || Kirtipur Tu Stadium Kathamand Nepal !
फाईल तस्विरमा:कीर्तिपुर त्रिवि क्रिकेट मैदान || Kirtipur Tu Stadium Kathamand Nepal !

काठमाडौं,चैत्र,१३-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले लागत मूल्यांकन सुरु गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान हुनसक्ने आशा व्यक्त गर्नुभयो।

‘हामीसँग यो कामका लागि कुनै अनुभव छैन।दशरथ रंगशाालमा यो काम चीनले सिधै गरिदिएको थियो।त्यसैले विदेशी विशेषज्ञहरुसँग समन्वय गरी लागत संकलनको तयारी गरिरहेको बताउनुभयो।

दुई साताअघि आईसीसी विश्वकप लिग टू मा सानदार प्रदर्शनसँगै नेपाल टिम आउने जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा प्रवेश गरेको थियो।त्यसपछि क्रिकेटका लागि घरेलु पूर्वाधारको बेथितिले चर्चा पाएको छ ।

राष्ट्रिय टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि निर्देशन दिएका थिए । आइतबार प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमा त्रिवि मैदानको फोटोसप गरेको तस्वीर राख्दै प्रधानमन्त्रीको निर्देशनपछि काम सम्पन्न भएको दावी गरेकी थिइन् ।

तर, नियामक निकाय राखेपले भने अहिलेसम्म टेण्डर प्रक्रियासमेत सुरु गरिसकेको छैन।प्रशासन प्रमुख बस्नेतले फ्लडलाइट जडान गर्ने स्थानको माटो परीक्षण सम्पन्न भएको बताउनुभयो।

बस्नेतले भन्नुभयो, ‘फ्लडलाइटको डिजाइन, बत्तीको संख्या, ब्याकअप जेनेरेटरदेखि डेडिकेटेट विद्युत लाइनका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । नयाँ जिम्मेवारी भएको हुनाले हाम्रो प्राविधिक जनशक्ति पनि विशेषज्ञसँग छलफलमा हुनुहुन्छ ।’

सन् १९९८ मा निर्माण भएको त्रिवि क्रिकेट मैदानलाई अत्याधुनिक सुविधासम्पन्न बनाउन फ्लडलाइट मात्र होइन पभेलियन, डिजिटल स्कोरबोर्ड र प्यारापिट पनि निर्माण गर्नुपर्नेछ ।