पूर्व अर्थमन्त्री देखि उद्योगी ब्यबसायीले दिए बजेट बारे यस्तो प्रतिक्रिया

काठमाण्डौ,जेठ,१५-

 पूर्व अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीले व्यापार घाटा न्यूनिकरण गर्न बजेटमा कुनै व्यवस्था नगरिएको प्रतिक्रिया दिनु भएको छ ।

पूर्व अर्थमन्त्री अधिकारीले कृषिमा लगानी बढाएर मात्रै व्यापार घाटा कम गर्न सकिने भन्दै सरकारले कृषिका लागि छुटयाइएको बजेट अपुग भएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले गरिवी हटाउने, कृषिमा उत्पादन बढाएर मात्रै मुलुकको व्यापार घाटालाई कम गर्न सकिने धारणा पनि राख्नु भयो ।पूर्व अर्थमन्त्री एवम काँग्रेस नेता डा. रामशरण महतले बजेट महत्वकांक्षी भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले बजेटमा कार्यान्वयन योजना समेत नआएको दावी समेत गर्नु भयो ।महतले स्थानीय तहमा गएको बजेट कार्यान्वयन गर्ने आधार नरहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले बजेटमा वित्तिय हस्तान्तरणको प्रक्रिया समावेश गरिए पनि सो अनुसारको प्रशासनिक संरचनाको व्यवस्था नभएको पनि उल्लेख गर्नु भयो ।

यस्तै,उद्योगी÷व्यवसायीहरुले आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत हासिल गर्ने लक्ष्य प्राप्तीका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने गरी बजेट नआएको प्रतिक्रिया दिएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रलाई करमा जुन सहुलियत दिनुपर्ने हो, सोको व्यवस्था बजेटमा नरहेको बताउनु भएको हो ।

उहाँले बजेटमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन स्रोतको व्यवस्था गर्नु भने सकारात्मक भएको बताउनु भयो ।नेपाल चेम्बस अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्र मैत्री बजेट नआएको प्रतिक्रिया दिनु भयो ।

उहाँले राजस्व बुझाउने निजी क्षेत्रलाई कर छुटको व्यवस्था बजेटमा नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।उद्योगी व्यवसायीहरुले बजेटले उद्योग मैत्री वातावरण निर्माणमा पनि ध्यान दिन नसकेको बताएका छन ।नेपालवाणीवाट