नेपालगन्जमा पनि गणतन्त्र दिवस मनाईयो

नयाँ संविधानलाई कार्यान्वयन गर्न सकिए मात्र गणतन्त्रले सार्थकता पाउने

 मधुपौडेल,

बाँके,जेठ,१५-
१० औं गणतन्त्र दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक हुँदै जिल्ला समन्वय समिती, बाँकेको सभाकक्षमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ संविधानलाई कार्यान्वयन गर्न सकिए मात्र गणतन्त्रले सार्थकता पाउने बताएका थिए ।

बाँके क्षेत्र नम्बर १ का सांसद देवराज भारले गणतन्त्र स्थापना गर्न धेरै नेपालीहरुको रगत, पसिना र आसुँ बगेको बताउनुभयो । उहाँले त्यसैको आधारमा निर्माण भएको नयाँ संविधानलाई कार्यान्वयन गर्नको लागि ३ तह कै निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राख्नु भयो ।

प्रभातफेरीमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक प्रसाद राई, शसस्त्र सिमा सुरक्षा बल महेन्द्रनगर बाँकेका प्रमुख एसपी राजु अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, नेपाल प्रहरी, शसस्त्र प्रहरी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिती बाँकेका प्रमुख हरी प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा बाँके क्षेत्र नम्बर १ का सांसद देवराज भार रहनुभएको थियो ।
यसैबीच
गणतन्त्र दिवस–२०७४ को अबसरमा सरकारले काठमाण्डौंको सैनिक मञ्च टुडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरेकोे छ । कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी , प्रधानमन्त्री पुष्प कमल दाहालले शान्तिका प्रतिक परेवा उडाउनुभएको थियो ।

त्यस्तै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पबृष्टि गरेको थियो । कार्यक्रममा बिभिन्न क्षेत्र समूदायका सस्कृति झल्कने झाँकि प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री पुष्प कमल दाहालले राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु राष्ट्रिय कार्यभार भएको बताउनुभयो ।

सरकार गठन भएपछि आजसम्म स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको भएको र राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको उहाको भनाई छ ।

प्रधानमन्त्री दाहालले ७ माघ २०७४ भित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने बिश्वास पनि व्यक्त गर्नुभयो । उहाले ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धि नियन्त्रण, विकास आयोजनाहरुमा हासिल गरिएको प्रगति, लोडसेडिङको

अन्त्य र उज्यालो युगको प्रारम्भ, लगाएतका उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
साइकल
गणतन्त्र दिवसको अवसर पारेर सोमबारदेखि नेपालगन्जमा द साइकल सिटी कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्ज जुनियर जेसीजको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा वातावरण मैत्री, स्वास्थ्य शरीर, पैदल तथा साइकल यात्रीलाई प्रोत्साहनका लागि द साइकल सिटी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले यो अभियानले व्यक्तिलाई मात्र नभएर शहरलाई नै स्वस्थ बनाउने बताउनुभयो । ¥याली पुष्पलाल चोकदेखि सुरु भई न्युरोड, बसपार्क, त्रिवेणीमोड, त्रिभुवन चोक, विपी चोक, हुदै धम्बोभीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

साइकल ¥यालीमा एक दर्जन भन्दा बढि विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । यो अभियान आफुहरुले सुरु गरेको भएपनि सफल भने नेपालगन्जबासीहरुले पार्नुपर्ने आयोजक संस्थाका अध्यक्ष आकाश कर्माचार्यले बताउनुभयो ।

हरेक महिना विभिन्न कार्यक्रमको आयोजना गरि साइकलको महत्व तथा साइकल चलाउँदाका फाइदाबारे आम जनसमुदायमा जनचेतना जगाउने उद्देश्यका साथ नेपालगन्जमा द साइकल सिटी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।