एएफसी यू-२३ आज नेपाल र ताजिकिस्तान भिड्ने

काठमाडौं,कार्तिक,११-एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । किनकि नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ ।

छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।