स्थानीय तहको चुनाव नजिकै गर्दा निर्वाचन आयोगद्धारा आफ्नो काम तीव्र

काठमाडौं, चैत २९-
सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषण गरेसंगै  निर्वाचन आयोगले आफ्नो काम तीव्र बनाएको छ ।निर्वाचनको चटारो काठमाडौंस्थित निर्वाचन आयोगमामात्र होइन, देशैभर देखिएको छ ।केन्द्रीय निर्वाचन आयोगका अतिरिक्त देशका विभिन्न स्थानमा आयोगले प्रशिक्षण र तालिमपनि सँगै चलाइरहेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आयोगको कार्यालय परिसरमा निकै व्यस्तता देखिन्छ । राजनीतिक पार्टीका नेताहरुको ओहोर–दोहोर बाक्लिएको छ भने आयोगका कर्मचारीसमेत उत्साहित भएर काममा खटिएका छन् ।निर्वाचन कार्यतालिकाअनुसार आयोग, निर्वाचनको लागि आवश्यक प्राविधिक सामग्रीको व्यवस्थापन र मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।

आयोगको परिसरमा यतिबेला मतदाता शिक्षाका पेटिका ओसार–पसार र जिल्ला–जिल्ला पठाउने काम धमाधम भइरहेको देखिन्छ ।गणतन्त्र नेपालको पहिलो चुनावलाई मध्यनजर गर्दै काममा कुनै चूक हुन नदिने आयोगका सचिव गोपीनाथ मैनाली बताउनुभयो ।निर्वाचनको कार्यक्रममा भाग लिन आवश्यक प्रक्रिया मिलाउनको लागि राजनीतिक दलका नेता पनि आयोग कार्यालय पुग्न थालेका छन् ।

वैशाख १६ गते उम्मेदवारी दर्ता, दाबी–विरोधलगायतका काम हुने भएकाले पनि आयोगका कर्मचारी चटारोमा देखिन्छन् ।दुई दशकपछि हुन लागेको निर्वाचनप्रति आफूहरु निकै उत्साहित रहेको आयोगको कार्यालयमा पुगेका एमाले नेता अग्नि खरेल बताउनुभयो ।निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी विभिन्न पोस्टर र पम्पलेटहरुलाई जिल्ला–जिल्ला पठाउने काम गरिरहेको छ ।

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको आयोगका सचिव मैनालीको भनाइ छ ।  वैशाख ३१ गतेका लागि निर्धारित् बहुप्रतिक्षित स्थानीय चुनावको सरगर्मीले समाजको सबै क्षेत्रलाई उत्तिकै छुँदै लगेको छ ।साभार ईमेज खबरबाट