पत्रकार महासंघको तालाबन्दी १२ औं दिन पनि जारी

बाँके, पुस २-नेपाल पत्रकार महासंघ बाँकेको कार्यालयमा लगाइएको तालाबन्दी १२ औं दिन आज सम्म पनि जारी छ । ताला खुलाउन महासंघ नेतृत्वले अहिलेसम्म पनि पहल गरेको छैन । महासंघको नेतृत्वले विधी र प्रक्रिया नपु¥याई एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन बाँकेले गत २० गते ताला लगाएको थियो । ताला लगाएको करिव दुई हप्ता पुग्न लाग्दा समेत निकासबारे छलफल नगरेर ‘महासंघ नेतृत्व गैरजिम्मेवार’ बनेको युनियन बाँकेका सचिव अर्जुन ओलीले बताउनु भयो ।

कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई बाइपास गरेर बहुमतको आडमा महासंघ नेतृत्वले गैर पत्रकारलाई सदस्यता सिफारिस गरेपछि युनियन रुष्ट बनेको छ । नेतृत्वले महासंघलाई कुनै अमूक पार्टीको भातृ संगठन बनाउन खोजिएको बाँकेका अग्रज पत्रकारहरुले बताएका छन् । महासंघका पूर्व अध्यक्षहरुले पनि सदस्यता सिफारिसमा नेतृत्वले गरेको हर्कतप्रती गम्भीर आपत्ति जनाउँदै पुनःविचार गर्न आग्रह गरिसकेका छन् । तर महासंघको नेतृत्व भने अहिलेसम्म मौनता साँधेर बसिरहेको छ ।