प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको छ: प्रवक्ता शर्मा

काठमाडौं,फागुन,२०-कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ ।

बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको भए पनि आफूहरूले झ्यालबाट चिहाइरहेको बताउनुभयो ।

‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसले ढोका खोलेको छैन । कांग्रेसले झ्यालबाट च्याइरहेको छ । कांग्रेसले निर्णय लिएको छैन ।’

प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुभयो । ‘कांग्रेसले वार्ता समिति गठन हुनुलाई नै सकारात्मक भनेको थियो ।

तर, सरकारले मुलुकको प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिने, छलफल गर्ने काम गरेन, यो बारेमा हामीले जे धारणा राखिरहेका छौँ, त्यो मिडियामा आएका कुराका आधारमा राखेका हौँ,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘बहुलवादमा आधारित संघीय संसदीय लोकतान्त्रिक गणतन्त्रको परिधिभित्रबाट मात्रै समाधानमा पुग्नुपर्ने हुन्छ ।’

शर्माले सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्धन्द्धलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी गर्नुभयो । बैठकमा संसदको पुनस्थापना पछि राष्ट्रिय राजनीति, कांग्रेसको भुमिका लगायत विषयहरुमा छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।