ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने

सिर्जना बर्देवा/
ओखलढुंगा पौष २-

Okhaldhunga district

ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने भएका छन् । सिद्धिचरण नगरपालिका १, तलुवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यहाँका वडाध्यक्ष केदारबाबु बस्नेतले यस्तो बताउनुभएको हो । राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको सहकार्यमा नमुना कृषक महिला समूह, तलुवाको आयोजनामा कृषिका सवालमा आधारित अन्तरक्रिया गरिएको हो ।

स्थानीय निर्वाचनका समयमा आफ्नो घोषणापत्रमा लामो समय खेती किसानीमा लागेका कृषकहरुले पेन्सन पाउने उल्लेख गरिएको स्मरण गराउँदै बस्नेतले सो व्यवस्था छिट्टै नै लागु हुने बताउनुभयो । प्रदेश र केन्द्रीय सरकार गठन हुनासाथ निजामती कर्मचारीले पेन्सन पाए झैँ किसानले पनि पेन्सन पाउने व्यवस्था लागु हुने उहाँको दाबी छ ।

कृषिप्रधान मुलुक नेपालमा कृषि र कृषक नै असुरक्षित हुने अवस्था देखिएपछि प्रोत्साहन गर्न पेन्सनको व्यवस्था लागु गर्न लागिएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । कृषकका समस्याको पहिचान गरी उनीहरुसँग सहकार्य गर्दै हकहितका लागि अन्य कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।

यसअघि, अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भक्तबहादुर बस्नेतले कृषकका समस्या,चुनौती र सम्भावना औँल्याउँदै कृषकले पनि पेन्सन पाउनुपर्ने माग राख्नुभएको थियो । त्यस्तै उहाँले कृषकलाई आफ्नो लगानीको सुरक्षा गर्न पशुधन बीमा र कृषि तथा बाली बीमा गर्न समेत सुझाव दिनुभएको छ ।

त्यस्तै, जिल्ला समन्वय समितिका योजना अधिकृत अस्मिता पन्थीले कृषिलाई व्यवसायिक रुपमा अघि बढाउन कृषकहरुलाई आग्रह गर्नुभएको छ । सिंहदरबारको सम्पूर्ण अधिकार अब स्थानीय तह र जनप्रतिनिधिमा गइसकेको हुनाले आफ्ना समस्या र चुनौती आफूले चुनेर पठाएका प्रतिनिधिसामु लैजान उहाँले सुझाव दिनुभयो ।

निर्वाचनका बेला जारी गरिएको घोषणापत्रमा उल्लेख भएअनुसार कृषकका हकहितका लागि काम भए नभएको खबरदारी कृषक आफैँले गर्न पर्नेमा पनि उहाँले जोड दिनुभयो । अन्तरक्रियामा सहभागी कृषकहरुले तलुवामा उत्पादनका लागि केही सम्भावना रहेको भएपनि सिंचाइका लागि आकाशेपानीमा भर पर्नु पर्दा सोचेजस्तो उत्पादन गर्न नसकेको गुनासो गरेका छन् । जलवायु अनुकुलन प्रविधि अन्तर्गत प्लास्टिक पोखरीले केही राहत दिएको भएपनि त्यो पर्याप्त नरहेको उनीहरुको भनाइ छ ।

यस नमुना कृषक महिला समूहले जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषक समूह महासंघले प्रदान गरेको बिउबिजन मार्फत् खेती गर्दै आएको छ भने टनेल खेती, प्लास्टिक पोखरी, भकारो सुधार, सुधारिएको गोठ लगायतका कार्यक्रम अन्तर्गत कृषि पेसा अपनाइरहेको जिल्ला परियोजना अधिकृत मुना वि.क ले जानकारी दिनुभयो ।