ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरियो

सिर्जना बर्देवा /
ओखलढुंगा पौष २-

ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरिएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले आज परीक्षण उडान गर्नुभएको हो ।

ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठले पनि उडान गर्नुभएको छ ।

ओखलढुंगाको मौसम र हावाको बेग प्याराग्लाइडिंग सुहाउँदो भएको बताउँदै क्षेत्रीले आगामी दिनमा प्याराग्लाइडिंगको माध्यमबाट पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै आवश्यक पूर्वाधार भने तयार गर्नुपर्ने बताउनुभयो ।

क्षेत्रीसंगै उडान गर्नुभएका स्थानीय श्रेष्ठले आफ्नै ठाउँमा प्याराग्लाइडिंग गर्न पाउँदा खुसी लागेको बताउँदै यसको राम्रो सम्भावना रहेकाले पर्यटनको विकासका लागि स्थानीयबासी सहित सम्पूर्ण सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।