संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं,कार्तिक,११-सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

भदौ २३ गतेबाट सुरु भएको संसदको चालु अधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण चल्न सकेको थिएन ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।

तर, विपक्षी दलको विरोध र नारावाजीकाबीच पनि सभामुख सापकोटाले कार्यसूची अगाडी बढाउँदै आउनुभएको थियो ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठक पनि एमालेले अवरोध गरेको थियो । सभामुख सापकोटाले बैठक कार्तिक २९ गतेसम्मको लागि स्थगित गर्नुभएको छ ।

प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्षको बजेट पारित गर्नुबाहेक चालुअधिवेशन उपलब्धिमुलक हुन सकेको थिएन ।