धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु

काठमाडौं,माघ,१२-

धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना. ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा हिजो साँझ करेन्ट लागेको हो ।

बेहुला रामवरण कुँवर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले ६ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।मृत्यु हुनेमा रामबाबु अधिकारी, आक्रोस कुँवर, पूजा अधिकारी, किसनदेवी कुँवर, लिला अधिकारी र सुरज अधिकारी रहेका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।