खोटाङको हलेसीमा भिषण आगलागी , चार घरमा पुर्ण तीनमा आंशिक क्षती

सिर्जना बर्देवा/
ओखलढुंगा, पौष १९-
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ ।

यस्तै, प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घर, पशल तथा होटलमा आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ । आगोले एउटा टहरा समेत नष्ट भएको छ । करिब तीन घण्टामा आगो नियन्त्रणमा आए पनि क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन ।

अग्नी रेखाकारुपमा बस्तीबीचकै घर भत्काएर आगो नियन्त्रणमा लिइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । प्रकाशचन्द्र र रेगिन्द्रको घर आगो फैलिनबाट रोक्नका लागि भत्काइएको हो । हलेसी बजारलाई थप क्षतीबाट जोगाउनका लागि घर भत्काउन र आगोमा माटो हाल्न जेसिभि समेत घट्नास्थलमा लगिएको मेयर राईले बताए ।

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना र शसस्त्र प्रहरी समेत हलेसी पुगेको थियो । जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दीर प्रबेश गर्ने द्धार नजिकैको क्षेत्रबाट आगो सुरु भएको हो ।

ग्याँस पड्किन थालेपछि आगो नियन्त्रण बाहिर गएको स्थानीय सन्देश राईले बताए । बाक्लो बस्तीबीचमै आगो सुरु भएपछि हलेसीमा त्रास फैलिएको थियो । आगो सुरु भएपछि घर रित्याएर भागाभाग नै मच्चिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा भएको आगलागी पानी अभावमा नियन्त्रण गर्न समस्या परेको उद्धारकर्मीले बताएका छन् । ग्याँस लिक भएर आगो सुरु भएको अनुमान गरिएको छ ।