इन्धनको मूल्यबृद्धि फिर्ता गर्न अनेरास्वीयु ओखलढुंगाको माग

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,१९-
अनेरास्वीयु ओखलढुंगाले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मतदानबाट नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा पनि सरकारमा रहेर विभिन्न निर्ण गरेको भन्दै अनेरास्वीयु ओखलढुंगाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको हो ।

देशभर आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुले ओखलढुंगामा विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न र इन्धनमा गरिएको मूल्यबृद्धि फिर्ता लिन आग्रह गरिएको छ । माग पुरा नभए थप शसक्त आन्दोलन गर्ने अनेरास्वीयुका केन्द्रिय सदस्य दिपक फुयाल र जिल्ला अध्यक्ष अशेष श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत चेतावनी दिईएको छ ।

इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो भएको झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए । त्यसैको बिरोधमा आज देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार सबैतिर बिरोध प्रदर्शन गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले राजीनामा र निर्वाचन आयोगले समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहनेछ ।