घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही हुन्छ : कुलमान

काठमाण्डौं,भाद्र,२९-

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताउनु भएको छ ।

आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताउनु भएको हो । प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उहाँको भनाइ छ। 

‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, पत्रकारले सोधेको प्रश्नको जवाफमा घिसिङले भन्नुभयो, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौँ।

प्राधिकरणले अहिले प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल लिँदै आएको छ। आफ्नो सफल कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले पत्रकार सम्मेलन गर्नुभएको थियो ।