आज ४५ जिल्लामा निर्वाचन हुँदै : सवारी साधनमा रोक

निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

काठमाडौं, मंसिर,२१-

प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएराती १२ बजेदेखि यातायातका साधन चलाउन रोक लगाइएको छ । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मध्यरातीदेखि यातायातका साधन चलाउन रोक लगाइएको हो ।

गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा जाने नागरिकहरुको सुरक्षाको पनि प्रबन्ध गरिएको बताएको थियो । 

निर्वाचनविरोधी तत्वहरुलाई नियन्त्रणमा लिइएको भन्दै उनले निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।

यस्तै : गृह मन्त्रालयका अनुसार सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि पास लिएका सवारी, एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

आन्तरिक उडान ७५ प्रतिशतले कटौती
दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दिन (आज) आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । निर्वाचन हुने क्षेत्रमा अत्यावश्यक सवारी बाहेक अरु सवारी नचल्ने भएकाले आन्तरिक रुटमा ७५ प्रतिशत उडान कटौती हुने भएको हो ।

काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावको दिन (आज) काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा मात्रै उडान हुने निजी वायुसेवा प्रदायकहरुको संगठन आयोनले जनाएको छ ।