यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काग तिहारकाठमाडौं,कार्तिक,६-हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको छ। आज देशभर काग तिहार मनाइँदै छ ।

यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

काग तिहारको अवसरमा आज काठमाडौंमा काग सम्मेलन आयोजना गरिएको छ । आज शान्तिबाटिकामा १९औं काग सम्मेलनको आयोजना गरिएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।