हजारौँ ऐतिहासिक लिखत जोखिममा

काठमाडौ,असार,३-

नेपालको इतिहास, संस्कृति तथा राजकाज व्यवस्थाबारे लेखिएका सनद, रोक्का, लालमोहरका हजारौँ चाङ जोखिमपूर्ण अवस्थामा छन् । भद्रकाली मन्दिर वरपरका चौघेरा भवनमा राखिएका ती सम्पत्ति संरक्षणका लागि खासै चासो पनि राखिएको छैन ।

त्यसै पनि जीर्ण भइसकेको भवन २०७२ सालको भूकम्पले थिलथिलो बनेको छ । भवन कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ । भवन पुनःनिर्माणका लागि योजना बन्दै थन्किँदै गरेको पनि दुई दसक नाघिसकेको छ ।

केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार लुमडी भद्रकाली व्यवस्थापन समितिको पहलमा भवन विभागबाट पुनःनिर्माणको थालनी प्रयास भएको थियो तर त्यो तुहियो ।गुठी संस्थानको इन्जिनियरिङ शाखाले पनि विगतमा भूमिगत सवारी पार्किङको व्यवस्थासहित भवन पूरै भत्काएर साविकझैँ बनाउने गरी नक्सासमेत तयार गरेको थियो ।

यसका लागि संस्थानले पटकपटक बजेट पनि स्वीकृत गरिसकेको थियो । भवन बनाउन संस्थान आफैले पहल गरेन । दाहालले राणाकालीन यो भवन भूकम्पले कमजोर बनाएर टेकोले अड्याइएको बताउँदै कुनै दुर्घटना भएमा ठूलो सङ्ख्यामा मानवीय क्षति हुनसक्ने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खवर छ ।