सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने

कैलाली,फाल्गुन,१६-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ ।

विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

मुख्यमन्त्री शाह केही दिन अघि काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्किनुभएको छ । “विश्वासको मत लिनका लागि सभामुखसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहनु भएको छ । प्रदेशसभामा एमाले बाहेकका दलसँगको छलफललाई समेत तीव्रता दिनुभएको छ,” मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले बताउनुभयो ।

संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित)११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन् ।

पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क रहेको उनका स्वकीय सचिव शाहीको दाबी छ।गत मंसिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त हुनुभएको थियो ।ईमेजखबरबाट साभार